काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार ‘जेनजी आन्दोलन’को मर्म र मूलभावनाभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मंगलबार (कात्तिक ४) बालुवाटारमा जेनजी आन्दोलनका घाइतेसँग भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले आन्दोलनको मर्मअनुसार नै अघि बढ्ने र कानुनी प्रक्रिया नटुक्रिने गरी काम गर्ने बताइन्।
उनले भनिन्, “जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सरकार सञ्चालन भइरहेको छ। निर्धारित समयमा नै निर्वाचन सम्पन्न हुनेछ।”
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई प्राथमिकतामा राखिएको पनि बताइन्। उनका अनुसार राज्यका सम्बन्धित निकायहरू तीव्र गतिमा भ्रष्टाचार अनुसन्धानमा जुटिरहेका छन्।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचार र दमनकारी प्रवृत्तिविरुद्ध कठोर कदम चाल्न सुझाव दिएका थिए। उनीहरूले चेतावनी दिँदै भने, “यदि भ्रष्टाचारीमाथि कारबाही भएन भने हामी फेरि सडकमा उत्रिन बाध्य हुनेछौं।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापन भए पनि पुरानै संरचना रहँदा प्रशासनिक रूपमा काम गर्न कठिनाइ भएको बताए।
त्यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा भएका दमन र भ्रष्टाचारका घटनाबारे भइरहेको छानबिनको कार्यप्रगतिबारे जानकारी गराए।
घाइतेहरूले भने सरकारको ध्यान जेनजी आन्दोलनका मुद्दाभन्दा पनि निर्वाचन तयारीतिर केन्द्रित भएको भन्दै असन्तुष्टि जनाए।
छलफलमा रुपिन खड्काको नेतृत्वमा जेनजी आन्दोलनका क्रममा घाइते भएका १८ जनाको समूह सहभागी थियो।