काठमाडौं । मनसुन सक्रिय भएको समयमा जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा राति सवारी सञ्चालनमा थप १५ दिन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म राजमार्गमा साँझ ५ः०० बजेबाट बिहान ५ः०० बजे सम्म यातायात रोक लगाइएको छ। यो निर्णय जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले स्वीकृत गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनका कारण बीपी राजमार्गमा बाढी–पहिरोको सम्भावित जोखिम रहेकाले निजी र यात्रुवाहक सवारी साधनको सुरक्षाका लागि रोक लगाइएको जानकारी दिएका छन्।
गत सालको असोजमा बाढीपहिरोले राजमार्गको धेरै खण्डमा क्षति पुर्याएको थियो। हाल क्षतिग्रस्त सडकको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको पनि कार्यालयले जनाएको छ।
यस राजमार्गबाट दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने भएकाले यात्रुहरूलाई सतर्क रहन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सार्वजनिक अनुरोध गरिएको छ।