काठमाडौं । बागलुङ नगरपालिका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ। मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलका अनुसार, आर्थिक वर्ष २०७८/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ट ठहरिएको हो।
यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), वित्तीय सुशासन प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकास प्रवर्द्धन प्रणाली (एलइडी) मा पनि बागलुङ नगरपालिका अब्बल रहिसकेको छ।
कँडेलले भने, “औपचारिक घोषणा भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत हुने तय भएको छ। पालिकाले काम समयमा पूरा गरी रिपोर्ट अपलोड गरेको र आर्थिक तथा सामाजिक विकासमा चुस्त रहेकाले उत्कृष्ट मूल्याङ्कन पाएको हो।”
स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) अन्तर्गत सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपद व्यवस्थापनको पाँच क्षेत्रका दुई दर्जन बढी उपशीर्षकमा पालिकाको कार्यसम्पादन अध्ययन गरिन्छ।
कँडेलका अनुसार, तोकेको समयमा काम पूरा गरेर रिपोर्ट प्रविष्ट नगरेसम्म पालिकालाई अंक दिइँदैन। त्यसका लागि सबै शाखा जिम्मेवार हुने र आइटी शाखाले आवश्यक सामग्री तोकेको समयमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नागरिकले अनुभव गर्ने गरी पूर्वाधार विकास, सुशासन र सरसफाइमा उत्कृष्टता ल्याउने लक्ष्य राखेको बताए। उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवर्द्धन र सामाजिक विकासका क्षेत्रमा पनि चुस्त र नागरिकमैत्री काम भइरहेको जानकारी दिए।
मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियान बागलुङ नगरपालिकाबाट सुरु गरेको छ।