काठमाडौं। १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भई जेलजीवन बिताइरहेका प्रतिनिधिसभाका सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । सांसद चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी हुन् ।
१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।
चौधरी वि.स. २०६६ भदौ ३ गते लु.२ त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका थिए ।
कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी कैलाली -२ बाट निर्वाचित सांसद हुन् ।