काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि राजधानी काठमाडौंमा भ्रष्टाचार अन्त्यको माग गर्दै हुन लागेको बिशाल प्रदर्शनलाई समर्थन गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त र्याली जेन जि पुस्ताको आवाज भएको उल्लेख गरेका हुन् । आफू उमेर हदबन्दीका कारण त्यहाँ उपस्थित हुन नमिल्ने भए पनि युवापुस्ताको सोच र इच्छालाई बुझ्ने चाहना व्यक्त गरेका छन्।
‘भोलिको र्याली स्पष्ट स्वतःस्फूर्तरूपमा जेन जि को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु’ उनले लेखेका छन्।
युवापुस्ताले देख्न चाहेको देशबारे प्रश्न गर्दै मेयर शाहले कुनै पनि पार्टी, नेता, सांसद, कार्यकर्ता वा अभियन्ताले आफ्ना स्वार्थका लागि र्यालीलाई प्रयोग नगर्न चेतावनीसमेत दिएका छन्।
‘भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ’ उनको स्टाटसमा भनिएको छ।
शाहले जेन जि पुस्तासँगै संवाद गर्ने इच्छा व्यक्त गर्दै अन्ततः प्रश्न गरेका छन्– ‘प्रिय जेन जि, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’