काठमाडौँ । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानलाई आगामी फिल्म ‘महादशा’ को शीर्ष कलाकारमा अनुबन्ध गरिएको छ।
निर्माताले दुवै कलाकारसँग लिखित सम्झौता गरेको जानकारी दिँदै, ‘दक्षिणा’ फिल्मको चर्चित जोडीले दर्शकमाझ अझै लोकप्रियता कायम गरिरहेको हुँदा उनीहरूको आगमनले हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको बताइएको छ।
यी दुई कलाकारले पछिल्लो पटक सन् २००४ मा रिलिज भएको फिल्म ‘सन्तान’ मा एकसाथ अभिनय गरेका थिए। गतवर्ष भने उनीहरूले काठमाडौँमा छायांकन भएको एक म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए।
‘महादशा’ ले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रूपमा प्रस्तुत गर्नेछ। यो फिल्म किरण नेपालीको डेब्यू निर्देशनमा बन्नेछ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा चर्चित हिपहप कलाकार हाकिम गुरुङले अभिनयमा डेब्यू गर्नेछन्। साथै, प्रमोद अग्रहरि र प्रेमा लामगाढे पनि कलाकारको रूपमा देखिनेछन्।
फिल्मको पटकथा मनिष गौतमले लेखेका हुन् भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता रहेका छन्। लामो समयदेखि प्राविधिक पक्षमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माता हुने जनाइएको छ।