काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका वर्तालुले बेलुकी सूर्यदेवलाई अघ्र्य दिने परम्परा रहेको छ।
चार दिनसम्म मनाइने सूर्य आराधनाको यो पर्व शनिबारदेखि सुरु भएको हो। महाभारत र सूर्य पुराणमा उल्लेख भएअनुसार यो पर्व द्रोपदी र अनुसूया देवीसँग सम्बन्धित छ। व्रत गरे दुःख–दारिद्र्यबाट मुक्ति पाइने र परिवारको कल्याण हुने जनविश्वास छ।
राजधानीमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारहरूमा पूजा तथा सजावटको विशेष व्यवस्था गरिएको छ। सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुनेछ।

