काठमाडौं । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई मधेस प्रदेशको प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
उनको पदमुक्ति मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवादसँग सम्बन्धित छ। भण्डारीले ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मधेसमा आफू बिरामी भएको भन्दै बाहिर गएकी भए पनि पछि नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराउँदा विवाद उत्पन्न भएको थियो।
यसैबीच, मन्त्रिपरिषद्ले सुरेन्द्रलाल कर्ण (धनुषा)लाई मधेस प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
त्यसैगरी, मन्त्रिपरिषद्ले नेपाल प्रहरीको ३३औँ प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

