काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि जारी गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता कायम गर्दै भयमुक्त वातावरण सुनिश्चित गर्न आयोगले यो कदम चालेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको यस मस्यौदामा १० वटा परिच्छेद र पाँच वटा अनुसूचीहरू समावेश गरिएका छन् ।
नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको निर्वाचन आचारसंहिता २०७९ खारेज हुने आयोगले जनाएको छ । यस पटकको आचारसंहितामा केही नयाँ र कडा प्रावधानहरू समेटिएका छन्, जसअन्तर्गत आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा निकायको नाम सार्वजनिक गरिने व्यवस्था गरिएको छ ।
यस्तै, आचारसंहिता पालना र अनुगमनमा विद्युतीय माध्यम वा सूचना प्रविधिको उच्च उपयोग गर्ने रणनीति आयोगले लिएको छ । मस्यौदामा राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

