काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबार पुगेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री लेखक बयानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
जेनजी आन्दोलन हुँदा आफू गृहमन्त्री रहेको र त्यसको नैतिक जिम्मेवारी लिँदै बयान दिन जाने लेखकले बताएका थिए । उनलाई जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगले बयानका लागि बोलाएको थियो ।
शुक्रबार नै बयानका लागि बोलाइए पनि लेखकले आफू व्यस्त रहेका कारण सोमबार (आज) मात्रै बयान दिन जाने बताएका थिए ।लेखकले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनबारे बोल्ने समेत जनाएका छन् । बयानपछि लेखकले आजै दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

