काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। आइतबार भारतको नयाँ दिल्ली जान लागेका प्रचण्डले त्यसअघि एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। ओली सचिवालयले उनीहरूको भेटलाई अनौपचारिकरुपमा पुष्टि गरेको छ।
उनीहरूबीच समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले समेत जनाएको छ। भेटबारे औपचारिकरुपमा दुवैपक्षले जानकारी गराएका छैन।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको विषयलगायत पछिल्लो राजनीति अवस्थाका बारेमा छलफल भएको स्रोतले बताएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ शक्तिबीच पार्टी एकता भएसँगै प्रमुख तीन दल कांग्रेस,एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच पनि चुनावी तालमेलका लागि नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ। तर,तालमेलको विषयमा भने टुंगो लागिसकेको छैन।

