काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले ७० प्रतिशत मत ल्याएर जित्ने दाबी गरेका छन्। कांग्रेस अझै सुदृढ हुन नसकेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेतर्फ आकर्षित भएको उनको भनाइ छ। खसेको मतमध्ये दुईतिहाइभन्दा बढी मत एमालेले प्राप्त गर्ने दाबी उनले गरे।
कमल गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको बताए। उनले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने समय आएको उल्लेख गर्दै जेन–जी आन्दोलनमा राजनीतिक गतिविधिभन्दा बढी आपराधिक काम भएको टिप्पणी गरे।
उनले देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको दाबी गर्दै बाह्य दबाब स्वीकार नहुने स्पष्ट पारे। कांग्रेस र एमाले मिल्न नदिने तथा देशमा विदेशी हस्तक्षेप बढाउन खोजिएको आरोप पनि उनले लगाए। अस्थिरताको खेतीबाट देशलाई जोगाउनुपर्ने आवश्यकता रहेको ओलीको भनाइ थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीन नागरिकको दीर्घकालीन बसोबास व्यवस्थाबारे नबुझेको टिप्पणी गरे। विपन्न आवास कार्यक्रम र एकीकृत बस्ती विकासजस्ता योजनाबाट धेरैले घरबास पाएको स्मरण पनि उनले गराए।

