काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा उनले बहुमत प्राप्त गर्दै उपसभामुख पदमा चयन भएकी हुन्।
सभामुख डीपी अर्यालका अनुसार ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत मात्र खसेको थियो। त्यस्तै २२ सांसदले ‘दिन्न’ भन्ने विकल्प रोजेका थिए। कुल २५६ सांसद उपस्थित रहेको बैठकमा मतदान सम्पन्न भएको हो।
उपसभामुख पदका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ। लामाको पक्षमा ५ मत मात्र परेको थियो भने विपक्षमा २१५ मत खसेको थियो। ३७ सांसदले ‘दिन्न’ भनेर मत व्यक्त गरेका थिए।
निर्वाचन परिणामसँगै ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी हुन्।

