काठमाडौं । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन तथा नागरिक गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा परिपत्रमा पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको भन्दै नागरिकबाट व्यापक गुनासो प्राप्त भएपछि मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ।
निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयहरूले सम्बन्धित निकायसँग समन्वय गरी होटल तथा रेष्टुरेन्टमा नियमित, सघन तथा आकस्मिक अनुगमन सञ्चालन गर्नुपर्नेछ।
अनुगमनलाई औपचारिकतामा सीमित नराखी नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासो सहज रूपमा दर्ता गर्न सकिने हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गरी प्राप्त सबै गुनासोलाई उच्च प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न भनिएको छ।
मन्त्रालयले अर्को निर्देशनमार्फत स्थानीय तहका गुनासा र समस्याहरू जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमै समाधान गर्न जोड दिएको छ।
साना–तिना विषयमा समेत नागरिकलाई केन्द्र वा मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गर्न र स्थानीय प्रशासनको प्रभावकारिता तथा नागरिक विश्वास कायम राख्न निर्देशन दिइएको छ।
निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष रूपमा अनुगमन गर्ने उल्लेख गर्दै लापरवाही, उदासीनता वा जिम्मेवारीहीन कार्यशैली स्वीकार्य नहुने चेतावनी दिइएको छ।
गृह मन्त्रालयले नागरिक केन्द्रित शासन, विधिको शासन तथा बजारमा सुशासन कायम गर्न स्थानीय प्रशासनले उच्च व्यावसायिकता र जवाफदेहितासहित कार्यसम्पादन गर्नुपर्ने अपेक्षा समेत व्यक्त गरेको छ।

