काठमाडौं । आज असार १५ गते देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ। कृषि प्रधान देश नेपालमा असार १५ लाई धान रोपाइँको शुभारम्भ र ‘दही–चिउरा खाने दिन’का रूपमा परम्परागत रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहिआएको छ।
सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ सालदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष ‘जलवायु मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र समृद्धि’ भन्ने मूल नाराका साथ सरकारी तथा निजी क्षेत्रबाट देशका विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएको छ।
किसानका लागि असार महिना वर्षकै सबैभन्दा व्यस्त समय मानिन्छ। यस अवधिमा धानको बीउ उखेल्ने, खेत जोत्ने, रोपाइँ गर्ने लगायतका कृषि गतिविधि तीव्र रूपमा सञ्चालन हुन्छन्। ‘मानो रोपेर मुरी उब्जाउने’ विश्वाससँग जोडिएको यो महिनाले मुलुकको खाद्य सुरक्षा र कृषि उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
धान दिवसका अवसरमा किसान, युवायुवती तथा स्थानीयवासी खेतको हिलोमा पसेर परम्परागत असारे भाका गाउने, लोकदोहोरी खेल्ने र हिलो छ्यापाछ्याप गर्दै रोपाइँको रमाइलो मनाउने परम्परा पनि जीवित छ। ग्रामीण क्षेत्रमा मात्र नभई सहरका युवावर्ग र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकसमेत हिलोमा रमाउँदै रोपाइँ महोत्सवमा सहभागी हुने गरेका छन्।
कृषि विशेषज्ञहरूका अनुसार धान दिवसले धान उत्पादनको महत्वबारे जनचेतना फैलाउनुका साथै कृषि पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुर्याउँदै आएको छ। यस दिन आयोजना हुने सामूहिक रोपाइँ, सांस्कृतिक कार्यक्रम र स्थानीय परिकारले नेपाली कृषि संस्कृति र परम्पराको संरक्षणमा समेत टेवा पुर्याएको छ।
यस वर्षको धान दिवसमा जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्ने सन्देशलाई विशेष प्राथमिकता दिइएको छ।

