काठमाडौं। बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ।
बाढीका कारण ती पुलका फलामे लठ्ठाहरू सुरक्षित रहे पनि मानिस हिँड्ने भाग (डेक) भने बगाएको थियो। डेक बगाएपछि अवरुद्ध भएका पुललाई पुनः सञ्चालनमा ल्याउन सरकारले नयाँ डेक खरिद प्रक्रिया अघि बढाएको हो।
नयाँ डेक खरिदका लागि यही भदौ २२ गते विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। सम्झौताअनुसार निर्माण कम्पनीहरूले आगामी १० दिनभित्र डेक उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नेछन्।
हाल सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकहरूलाई कार्यक्षेत्रमै खटाएर पुलका फलामे लठ्ठा तान्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको छ।
यसैगरी, बाढीबाट प्रभावित क्षेत्रमा क्षति पुगेका बाँकी १४ वटा झोलुङ्गे पुललाई पनि आगामी एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढाइएको छ।
बाढीका कारण उक्त करिडोरमा थप ३३ वटा झोलुङ्गे पुल भने पुनःनिर्माण नै गर्नुपर्ने अवस्थामा पुगेका छन्। ती पुलको पुनःनिर्माणका लागि आवश्यक फलामे लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ।
उक्त बोलपत्र आगामी असोज ५ गते खोलिने तय भएको छ। आवश्यक सामग्री खरिदपछि पुनःनिर्माणको काम अघि बढाइनेछ।
सरकारले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन’ अनुसार बाढी आउनुअघि रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुल सञ्चालनमा रहेका थिए।
बाढीबाट क्षति पुगेका पुलको मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिइएपछि प्रभावित क्षेत्रका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

