काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।
बाढीका कारण विद्यालय भवनमा मात्रै क्षति पुगेको छैन। भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिसमेत नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
विद्यालयका संरचना पुनर्निर्माण गर्नुका साथै पठनपाठन सहज बनाउन तत्काल १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि भने २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ।
सरकारले बाढी प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयका विभिन्न पाँच वटा संस्थाले पनि बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीबाट प्रभावित भएर विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको तत्काल पठनपाठन सुचारु गर्न उनीहरूलाई पायक पर्ने विद्यालयमै अध्ययनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरूले सहजीकरण गरिरहेका छन्।

