अमेरिका र इरानबीच यसै महिनाको सुरुमा भएको सम्झौतापछि हर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री व्यापार क्रमशः पुनः सञ्चालनतर्फ उन्मुख भए पनि जहाज सञ्चालनका लागि प्रयोग हुने मार्गबारे अन्योल कायमै रहेको छ।
सम्झौताअनुसार इरानले हर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। तर जलडमरूमध्य पुनः सञ्चालनमा आए पनि इरानले त्यस क्षेत्रमा आफ्नो प्रभाव र नियन्त्रण कायम राख्ने संकेत गरेको छ।
सम्झौतामा रहेको एक प्रावधानअनुसार इरान र ओमानले मिलेर जलडमरूमध्यको भविष्यको प्रशासनिक व्यवस्थाबारे सहकार्य गर्ने उल्लेख गरिएको छ। यसले उक्त जलमार्गको व्यवस्थापनमा इरानलाई औपचारिक भूमिका प्रदान गर्ने विश्लेषण गरिएको छ।
हाल हर्मुज जलडमरूमध्यमा जहाज सञ्चालनका लागि तीन फरक समुद्री मार्ग प्रयोगमा आएका छन्। पहिलो मार्ग ओमानको समुद्री क्षेत्र हुँदै दक्षिणतर्फ जान्छ। दोस्रो मार्ग युद्धअघि प्रयोग हुँदै आएको जलडमरूमध्यको मध्य भागबाट सञ्चालन हुने मार्ग हो। तेस्रो मार्ग भने उत्तरी क्षेत्रमा रहेको इरानको नियन्त्रणमा रहेको समुद्री मार्ग हो।
समुद्री सुरक्षा तथा विश्लेषण संस्था विन्डवार्डका अनुसार धेरै जहाज सञ्चालक अहिले ओमानको दक्षिणी मार्ग प्रयोग गर्न इच्छुक देखिएका छन्। संस्थाका तथ्यांकअनुसार बिहीबार १८ जहाज जलडमरूमध्यभित्र प्रवेश गरेका थिए भने ४५ जहाज बाहिरिएका थिए। खाडी क्षेत्रबाट बाहिरिने जहाजमध्ये आधाभन्दा बढीले ओमान नजिकको दक्षिणी मार्ग प्रयोग गरेका थिए।
जहाज ट्र्याकिङ सेवा ‘मरीन ट्राफिक’का अनुसार आइतबार पनि धेरै ठूला मालवाहक जहाज तथा एउटा कन्टेनर जहाजले ओमानको समुद्री मार्ग प्रयोग गर्दै खाडी क्षेत्रतर्फ यात्रा गरेका थिए।
यद्यपि कुन मार्ग सुरक्षित र उपयुक्त हुने भन्ने स्पष्ट नहुँदा युद्धअघिको अवस्थामा व्यापार पूर्ण रूपमा फर्किन सकेको छैन। विभिन्न समुद्री मार्ग र तिनको नियन्त्रणलाई लिएर सिर्जिएको अन्योलले जहाज सञ्चालकहरूलाई सञ्चालन निर्णय गर्न कठिन बनाएको छ।
विश्लेषकहरूका अनुसार जहाजहरूले इरानबाहेकका मार्ग प्रयोग गरे सुरक्षा जोखिम बढ्न सक्ने चिन्ता छ भने इरानको नियन्त्रणमा रहेको मार्ग प्रयोग गरे भविष्यमा सम्झौता विफल भए पश्चिमी मुलुकबाट प्रतिबन्धको जोखिम सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले जहाज कम्पनीहरू दोहोरो दबाबमा परेका छन्।

