काठमाडौं । बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन छुट्टै साइत खोज्न आवश्यक नरहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्।
राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने धार्मिक मान्यता रहेको उनले बताए। शास्त्रीय मान्यताअनुसार शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने विश्वासका आधारमा साइत निर्धारण गरिएको उनको भनाइ छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने परम्परा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ।
समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
टीका लगाउँदा दिशा मिलाउनुपर्ने धार्मिक मान्यता
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्छ।
चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने धार्मिक मान्यताअनुसार यस्तो दिशा निर्धारण गरिएको उनले बताए। टीका लगाइमाग्ने र लगाइदिने व्यक्तिले कुन दिशातर्फ फर्कने भन्ने कुरा कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुने धार्मिक मान्यता छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। जमरालाई विभिन्न रोगव्याधमा औषधीय गुण भएको वनस्पतिका रूपमा समेत लिने गरिन्छ।
पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभरि शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण टीका र प्रसाद ग्रहण गर्नुअघि अभिषेक गर्ने परम्परा पनि रहेको छ।
विजय र समृद्धिको प्रतीक विजयादशमी
त्रेतायुगमा भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको धार्मिक विश्वासका आधारमा विजयादशमी मनाउन थालिएको मानिन्छ। त्यसैले यस दिनलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिने गरिन्छ।
विजयादशमीका दिन गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबा, आमा तथा अन्य मान्यजनको हातबाट नवदुर्गाको टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, कार्यक्षमता वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने परम्परा छ।
टीका लगाइदिँदा पुरुषलाई अश्वत्थामा, राजा दशरथ, भगवान् राम, राजा नहुष, वायु, दुर्योधन, भीष्म, बलराम, कर्ण, विदुर र नारायणसँग सम्बन्धित गुणहरूको आशीर्वाद दिने मन्त्र पाठ गर्ने चलन छ। उक्त मन्त्रमा दीर्घायु, श्रीसम्पत्ति, शत्रुमाथि विजय, ऐश्वर्य, गति, मान, शौर्य, बल, दानशीलता, ज्ञान र कीर्तिको कामना गरिएको हुन्छ।
त्यस्तै, महिलालाई दुर्गा देवीका विभिन्न स्वरूपको स्मरण गर्दै जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीलाई नमस्कार गर्ने मन्त्रबाट आशीर्वाद दिने परम्परा छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न जाने मानिसको आवतजावत बढ्ने गर्छ। नेपाली समाजमा पारिवारिक भेटघाट, आपसी सद्भाव र सम्बन्ध नवीकरणको अवसरका रूपमा पनि दसैँलाई लिने गरिन्छ।
नेपालका केही भागमा भने विजयादशमीकै दिन मात्र दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ। केही जाति तथा समुदायमा कुलपरम्पराअनुसार दही र अक्षता मिसाएर सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ।

