- अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको नेपाली चलचित्र ‘जदौ’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ।
- चलचित्रले देशभरका सिनेमा हलमा करिब ५० शो पाएको छ भने टिकट बुकिङ भइरहेको निर्माण पक्षले जनाएको छ।
- नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल र ऋचा शर्माको मुख्य भूमिका रहेको चलचित्रले ‘यू’ प्रमाणपत्र पाएको छ।
बहुप्रतीक्षित नेपाली चलचित्र ‘जदौ’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा निर्माण भएको चलचित्रले प्रदर्शनको पहिलो दिन बिहानका शोबाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। निरन्तर वर्षाका बीच पनि चलचित्र हेर्न दर्शकको उपस्थिति देखिएको बताइएको छ।
हलबाट निस्किएका दर्शकले चलचित्रको कथा, संवाद र गीतको प्रशंसा गरेको निर्माण पक्षको भनाइ छ। देशभरका सिनेमा हलमा करिब ५० शो पाएको चलचित्रको अग्रिम तथा तत्काल टिकट बुकिङसमेत भइरहेको जनाइएको छ।
केन्द्रीय चलचित्र जाँच समितिबाट ‘यू’ अर्थात् सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र पाएको चलचित्रको अवधि २ घण्टा १० मिनेट १७ सेकेन्ड रहेको छ। शान्ता पुडासैनीले निर्माण गरेको ‘जदौ’मा नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल र ऋचा शर्मालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

