एजेन्सी । भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन्।
नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’ मा देखिएका थिए। शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो। चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी उनले अनिल कपुर अभिनीत ‘सुबेदार’ मा पनि अभिनय गरेका थिए। उक्त चलचित्रको मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको थियो। त्यसअघि उनी ‘हाउसफुल–५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिएका थिए।
हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक पाटेकरले चार दशकभन्दा लामो समय भारतीय चलचित्र क्षेत्रमा बिताएका थिए। ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय निकै चर्चित बनेको थियो।
पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको चलचित्र ‘गमन’ बाट बलिउडमा प्रवेश गरेका थिए। त्यसपछि ‘शक्ति : द पावर’ (२००२), ‘अब तक छप्पन’ (२००४), ‘अपहरण’ (२००५) र ‘ट्याक्सी नम्बर ९२११’ (२००६) लगायतका चलचित्रमा उनले प्रभावशाली अभिनय गरेका थिए।
चलचित्र तथा कला क्षेत्रमा पुर्याएको योगदानका लागि भारत सरकारले सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।
चार दशकभन्दा लामो अभिनय यात्रामा विभिन्न प्रभावशाली भूमिका निर्वाह गरेका नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक चर्चित कलाकार गुमाएको छ।

