गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको स्रोत समुद्री सतहबाट ५ हजार ५०० देखि ६ हजार ५०० मिटर उचाइमा रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार उच्च हिमाली क्षेत्रमा पहिरो वा हिमपहिरो खसेपछि नदीमा आकस्मिक बाढी आएको हुन सक्ने देखिएको हो।
केन्द्रले आइतबार राति सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन–१’ मा उच्च हिमाली क्षेत्रबाट सुरु भएको पहिरो वा हिमपहिरोले ३ हजार ५०० मिटरभन्दा बढीको ठाडो उचाइ पार गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक स्यार खोलासम्म प्रभाव पारेको उल्लेख छ। स्यार खोला बूढीगण्डकी नदीको सहायक नदी हो।
प्रतिवेदनअनुसार बूढीगण्डकी र स्यार खोलाको तल्लो उपत्यका समुद्री सतहबाट करिब १ हजार ४०० देखि २ हजार ८०० मिटरको उचाइमा रहेको छ। यस क्षेत्रमा चुम्चेत, चुम्लिङ, रिप्चेत र च्याउललगायतका बस्ती छन्। उपत्यकाभन्दा माथि भने ५ हजार ६०० देखि ७ हजार मिटरभन्दा अग्ला हिमाली चुचुराहरू रहेका छन्।
केन्द्रका अनुसार असोज २५ गते बिहान करिब ६ बजे बाढी पूर्वानुमान महाशाखामा स्यार खोलातर्फबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। त्यसपछि उपलब्ध सूचना र भू–उपग्रहका तस्बिरहरूको विश्लेषण गर्दा उच्च हिमाली क्षेत्रमा खसेको पहिरोले स्यार खोला थुनिएर अस्थायी प्राकृतिक बाँध बनेको र त्यसपछि पानी एक्कासि बगेको हुन सक्ने अनुमान गरिएको छ।
भू–उपग्रहका तस्बिरमा नयाँ हिमपात र पहिरोको संकेत
बाढीको सम्भावित कारण पत्ता लगाउन सेन्टिनेल–२ भू–उपग्रहबाट अक्टोबर ६ र ११ मा खिचिएका तस्बिरहरूको अध्ययन गरिएको केन्द्रले जनाएको छ।
अक्टोबर ६ को तस्बिरमा मुख्य खोँच र डाँडाहरूमा छरिएको हिमपात तथा चट्टानी ढलान देखिएको थियो। तर, अक्टोबर ११ को तस्बिरमा माथिल्लो हिमाली क्षेत्रमा व्यापक नयाँ हिमपातसँगै पहाडको माथिल्लो भागबाट तल्लो उपत्यकातर्फ झरेको गाढा कालो धब्बा र बहावको रेखा देखिएको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रका अनुसार यी दृश्यले उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो वा चट्टान, माटो र गेग्य्रानसहितको पहिरो गएको सम्भावनालाई संकेत गर्छन्। तीव्र गतिमा तल झरेको गेग्य्रानले बाटोमा रहेका वनस्पति र माटोसमेत बगाएको हुन सक्ने विश्लेषण गरिएको छ।
नदीमा गेग्य्रान थुप्रिएर अस्थायी बाँध बनेको आशंका
प्रतिवेदनमा चुम्लिङ र रिप्चेतनजिक मुख्य नदीको दोभानमा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको देखिएको पनि उल्लेख छ। उक्त गेग्य्रानले केही समयका लागि नदीको प्राकृतिक बहावमा अवरोध सिर्जना गरेको वा नदी थुनेको हुन सक्ने केन्द्रको अनुमान छ।
नदीमा यसरी अस्थायी अवरोध बनेपछि पानी जम्मा भएको र अवरोध हट्दा एक्कासि ठूलो परिमाणमा पानी तल्लो तटीय क्षेत्रमा बगेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरिएको छ। यस्तो घटनाले बूढीगण्डकी नदी आसपासका बस्तीमा विनाशकारी बाढीको प्रभाव पारेको हुन सक्ने देखिएको छ।
यद्यपि, बाढीको वास्तविक कारण, पहिरो वा हिमपहिरोको प्रकृति तथा घटनाको क्रम अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। त्यसका लागि विस्तृत भू–आकृतिक अध्ययन, थप भू–उपग्रह तस्बिर तथा अन्य उपलब्ध तथ्यहरूको विश्लेषण आवश्यक रहेको केन्द्रले जनाएको छ।
घटनाको वास्तविक कारण र बाढी उत्पन्न भएको प्रक्रियाबारे थप अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ।

