काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास वितरण हुने स्थान ६ बाट बढाएर ११ पुर्याइएको छ। दसैँका बेला उपभोक्तालाई ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि सुरु गरेको ग्यास बिक्री तथा सिलिन्डर साटफेर व्यवस्था विस्तार गरेको हो।
आइतबार काठमाडौँ उपत्यकाका ६ स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। पर्याप्त ग्यास उपलब्ध नहुँदा कतिपय उपभोक्ता रित्तो हात फर्किनुपरेपछि उपभोक्ताको सुविधाका लागि सोमबारदेखि थप पाँच स्थानमा वितरण केन्द्र सञ्चालन गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
संघका अनुसार सोमबारदेखि काठमाडौँको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सन्तुगलमा श्रीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ।
यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौँको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यास साट्ने व्यवस्था गरिएको थियो।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था मिलाइएको थियो।
संघका अनुसार तोकिएका ११ वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
तर, तोकिएका वितरण केन्द्रबाट मात्रै सिलिन्डर साटफेर गर्न पाइने संघले स्पष्ट पारेको छ। अन्य स्थानबाट यस्तो सुविधा उपलब्ध हुने छैन।
ग्यास साटफेरको व्यवस्था असोज ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। यसअघि संघले असोज ३१ गतेसम्म बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिने जनाएको थियो।
संघका अनुसार आइतबार पहिलो दिन विभिन्न कम्पनीका गरी ३ हजार ७५ वटा ग्यास सिलिन्डर बिक्री तथा वितरण भएका थिए। दसैँको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले वितरण केन्द्र विस्तार गरिएको हो।

