सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरेको हो।
विभागका अनुसार तराई तथा पहाडी सडकमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनका लागि नयाँ भाडादर निर्धारण गरिएको छ। तराईको २५० किलोमिटरभन्दा बढी दूरीको लामो रुटमा पक्की तथा ग्राभेल सडकका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ।
त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ भाडा निर्धारण गरिएको छ। काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको विभागले जनाएको छ।
डिलक्स र सुपर डिलक्समा थप शुल्क
विभागले डिलक्स तथा सुपर डिलक्स सुविधा भएका सवारीसाधनका लागि थप शुल्क लिन पाउने व्यवस्था गरेको छ। यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा प्रमाणित गराएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप शुल्क लिन सक्नेछन्।
त्यस्तै, सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम जोडेर लिन पाउने व्यवस्था गरिएको छ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य छुट
विभागले जारी गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई तोकिएको भाडादरमा अनिवार्य सहुलियत उपलब्ध गराउनुपर्नेछ। यस्तो छुट निश्चित रुट, कोटा वा दिनमा मात्र सीमित गर्न नपाइने व्यवस्था गरिएको छ।
सहुलियत प्राप्त गर्न यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ। विभागले सार्वजनिक यातायातमा सहुलियतको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जनाएको छ।
त्यसैगरी, लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। चालक तथा सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्ने पनि विभागले जनाएको छ।
बढी भाडा लिए उजुरी गर्न सकिने
तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। यात्रुले निर्धारितभन्दा बढी भाडा तिर्नुपरेमा हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।
विभागले यात्रुलाई तोकिएको भाडादरअनुसार मात्र रकम तिर्न र बढी भाडा लिइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
मालवाहक ट्रकको भाडादर पनि परिवर्तन
यात्रुवाहक सवारीसाधनसँगै मालवाहक ट्रकको भाडादरसमेत समायोजन गरिएको छ। नयाँ व्यवस्थाअनुसार तराई क्षेत्रमा मालवाहक ट्रकको भाडा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
विभागले १० टन क्षमतालाई आधार मानेर विभिन्न रुटमा सञ्चालन हुने मालवाहक ट्रकको भाडादरसमेत निर्धारण गरेको छ। निर्धारित दरअनुसार वीरगञ्ज–काठमाडौँ पहाडी मार्गमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौँको भाडा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ।
नयाँ भाडादर र आचारसंहिताको कार्यान्वयनमार्फत सार्वजनिक यातायातमा भाडा प्रणालीलाई व्यवस्थित बनाउने तथा यात्रुको हित संरक्षण गर्ने विभागको उद्देश्य रहेको छ।

