- विक्रेतालाई प्रोत्साहन दिन कार्यविधि संशोधनको प्रस्ताव ल्याउन निर्देशन।
- पुरस्कार रकम तय हुन बाँकी, संशोधन भए असोजको दोस्रो पाक्षिकबाट समेट्ने तयारी।
- हालसम्म ७४ उपभोक्ताले जनही एक लाख र पाँच जनाले बम्पर पुरस्कार पाएको विवरण।
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत बिल जारी गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था अघि बढाउन निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा उनले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधनको प्रस्ताव ल्याउन भनेका हुन्।
उपभोक्तामा बिल लिने अभ्यास बढे पनि कतिपय व्यवसायी बिल जारी गर्न हिचकिचाउने गरेको गुनासो आएको भन्दै वाग्लेले विक्रेतालाई समेत प्रोत्साहन आवश्यक रहेको बताएका छन्। बिल लिने र दिने दुवै पक्षलाई कार्यक्रममा जोडेर कारोबार औपचारिक बनाउने उनको जोड छ।
उनले व्यवसायीलाई कति रकम र कुन प्रक्रियाबाट पुरस्कार दिन सकिन्छ भन्ने प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्। विक्रेताका लागि पुरस्कार रकम भने तय भइसकेको छैन। प्रस्तावित प्रोत्साहन रकम उपभोक्ताले पाउने पुरस्कारभन्दा कम हुने बताइएको छ।
विभागले समयमै कार्यविधि संशोधन गरे असोज १६ देखि मसान्तसम्मको दोस्रो पाक्षिक अवधिको पुरस्कार घोषणामा विक्रेतालाई पनि समेट्ने तयारी छ। यद्यपि निर्देशनसँगै विक्रेताले पुरस्कार पाउने व्यवस्था लागू भइसकेको छैन।
साउन १ गतेदेखि सञ्चालित कार्यक्रममा उपभोक्ताको खरिद बिलका आधारमा पाक्षिक रूपमा विजेता घोषणा गरिँदै आएको छ। उपलब्ध विवरणअनुसार साउनदेखि असोज १५ सम्म पाँच चरणमा ७४ जनाले कर कट्टीपछि जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कारमा जनही सात लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कार्यक्रममा सहभागी हुन उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्यान वा भ्याट बिल लिनुपर्छ। नगद भुक्तानी गर्ने उपभोक्ताले आन्तरिक राजस्व विभागको पुरस्कार पोर्टलमा खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्छन्। विभागले उपभोक्तालाई बिल लिन र व्यवसायीलाई बिक्री बिल अनिवार्य जारी गर्न आग्रह गर्दै आएको छ।

