काठमाडौं । सवारी साधनको दर्ता, नामसारी तथा बीमा प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता, नामसारी, बीमा तथा बीमा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ।
नयाँ व्यवस्थाले सवारी साधन खरिदबिक्री तथा त्यससँग सम्बन्धित प्रशासनिक प्रक्रिया पूरा गर्न सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने अपेक्षा गरिएको छ। यसबाट समयको बचत हुनुका साथै यातायात कार्यालयमा हुने अनावश्यक दौडधुपसमेत घट्ने विश्वास गरिएको छ।
संशोधित व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यसअघि डिलरबाट जाँच भइसकेका सवारी साधनलाई समेत यातायात व्यवस्था कार्यालयमा लगेर पुनः जाँच गराउनुपर्ने अवस्था रहेकामा अब त्यस्तो गर्नुपर्ने छैन।
त्यस्तै, सवारी साधन खरिदकर्ताले वारेसनामा दिएर तोकेको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई पनि सहज बनाएको छ। अब यी कामका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन।

