काठमाडौं । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । लामो समयदेखि रोकिएको पुल सञ्चालनमा आएसँगै दुई देशबीच व्यापार, यातायात तथा आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।
सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त पुल उत्तर कोरियातर्फको निर्माण कार्य अधुरो रहेपछि लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन । चीनमाथि उत्तर कोरियाको आर्थिक निर्भरता तथा उत्तर कोरियाको आणविक कार्यक्रमसँग सम्बन्धित प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले पनि पुल निर्माणमा ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो ।
नयाँ पुल सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारिक आवागमन सहज हुने र दशकौँ पुरानो पुलमा रहेको चाप कम हुने अपेक्षा गरिएको छ । पुरानो पुलबाट चीन र उत्तर कोरियाबीच हुने कुल आधिकारिक व्यापारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओसारपसार हुँदै आएको थियो । उक्त पुलमा सडक यातायात एकपटकमा एकतर्फ मात्र सञ्चालन गर्न सकिने भएकाले आवागमनमा सीमितता रहँदै आएको छ ।
रुस र उत्तर कोरियाबीच सडक पुल सञ्चालनमा आएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल पनि सञ्चालनमा आएको हो । पछिल्लो समय उत्तर कोरियाले चीनसँगै रुससँगको सम्बन्धलाई समेत विस्तार गर्दै आएको छ ।
चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहँदै आएको छ । तर, पछिल्ला वर्षमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्ध विस्तार गरेका छन् । युक्रेन युद्धका क्रममा उत्तर कोरियाले रुसलाई सैनिक तथा हतियार सहयोग गरेको र त्यसको बदलामा सैन्य तथा आर्थिक सहयोग प्राप्त गरेको हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।
उत्तर कोरियामा आफ्नो प्रभाव कायम राख्न चीनले आर्थिक तथा व्यापारिक सम्बन्धलाई महत्वपूर्ण माध्यमका रूपमा लिँदै आएको विश्लेषण भइरहेका बेला नयाँ पुल सञ्चालनमा आएको हो । गत वर्ष उत्तर कोरियाको कुल व्यापारमध्ये ९८ प्रतिशत हिस्सा चीनसँग रहेको थियो ।
नयाँ पुलले दुई देशबीचको व्यापारिक सम्पर्क थप सहज बनाउने भए पनि यसले क्षेत्रीय आर्थिक तथा कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।

