लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका–९ फूलबारीमा सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित र यात्रुमैत्री बनाउन संयुक्त अनुगमन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा यातायात व्यवस्था कार्यालय डुम्रे, तनहुँको आयोजनामा शनिबार सार्वजनिक सवारीसाधनको संयुक्त अनुगमन गरिएको हो ।
‘सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा– हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गरिएको अनुगमनमा यातायात व्यवस्था कार्यालय डुम्रे, तनहुँका कार्यालय प्रमुख नारायणप्रसाद बाँस्तोलासहितका कर्मचारी, यातायात व्यवसायीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्री, अस्थायी प्रहरी चौकी पाउँदीका प्रहरी सहायक निरीक्षक सुकबहादुर थापासहित प्रहरी कर्मचारी सहभागी थिए ।
अनुगमन टोलीले सार्वजनिक सवारीसाधनको अवस्था, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा सार्वजनिक सवारीसाधनमा तोकिएको भाडादर कायम भए/नभएको, सवारीको स्वरूप परिवर्तन तथा प्रयोजनविपरीत सञ्चालन भए/नभएको, चालक र सहचालकले यात्रुसँग गर्ने व्यवहार, आरक्षित सिटको व्यवस्था, तीव्र गति नियन्त्रण तथा तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने र ओराल्ने विषयमा जाँच गरिएको थियो ।
त्यस्तै, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन, चालकको अवस्था ठीक नदेखिएमा वा सवारी दुर्घटना भएको देखेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरी कार्यालयको नम्बर १०० मा खबर गर्न यात्रुलाई आग्रह गरिएको थियो ।
अनुगमनका क्रममा ५१ वटा साना तथा ठूला सार्वजनिक सवारीसाधन जाँच गरिएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने ७ वटा सवारीसाधनलाई संयुक्त अनुगमन टोलीले कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
कार्यक्रममार्फत सवारी चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न सम्झाइबुझाइ गर्नुका साथै सडक दुर्घटना न्यूनीकरण र यातायात क्षेत्रको गुणस्तर सुधारका लागि जनचेतना अभिवृद्धि गरिएको थियो ।

