- पहिलो त्रैमासमा ६ खर्ब ४६ अर्ब ७८ करोडको आयात हुँदा निर्यात एक खर्ब १४ अर्ब २८ करोडमा सीमित।
- व्यापार घाटा ३४.७१ प्रतिशत बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुग्यो।
- निर्यातको प्रमुख हिस्सा वनस्पति तेल, आयातमा पेट्रोलियम पदार्थको खर्च सबैभन्दा धेरै।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वस्तु व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिभन्दा ३४.७१ प्रतिशत बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएकोमा यसपटक ३८.१८ प्रतिशत वृद्धि भएको हो।
निर्यात भने ५७.०३ प्रतिशत बढेर एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो।
समीक्षा अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यसमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत छ। प्रत्येक एक रुपैयाँको निर्यात गर्दा ५ रुपैयाँ ६६ पैसाको वस्तु आयात भएको देखिन्छ।
आयातमा पेट्रोलियम पदार्थका लागि एक खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको छ। वनस्पति तेल उत्पादनका कच्चा पदार्थ ६६ अर्ब ६६ करोड र सवारीसाधन तथा सम्बन्धित कच्चा पदार्थ ५३ अर्ब १९ करोड रुपैयाँका भित्रिएका छन्।
निर्यातमा वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो छ। यस अवधिमा ५९ अर्ब ३२ करोड रुपैयाँको वनस्पति तेल निर्यात भएकोमा भटमासको तेलमात्रै ५२ अर्ब ६० करोड रुपैयाँको छ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ। भारतबाट करिब ३ खर्ब ६६ अर्ब रुपैयाँको आयात हुँदा ९५ अर्ब ५९ करोड रुपैयाँको निर्यात भएको छ। चीनबाट करिब एक खर्ब ३४ अर्ब रुपैयाँको आयात भएकोमा निर्यात ६७ करोड रुपैयाँमा सीमित छ।
वस्तु व्यापार घाटा बढे पनि पहिलो दुई महिनामा रेमिट्यान्स २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ। सो अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ।

