पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गर्नु गम्भीर विषय भएको बताए । उनले उक्त घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको अप्रिय घटनाको स्मरण गराएको टिप्पणी गरे ।
नागरिक दबाब र विरोधपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको र छुटेको विषयमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । यस घटनाले सरकारले राज्यको अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए ।
सभापति थापाले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे । सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिलाई सामान्य रूपमा लिन नहुने भन्दै उनले नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत रहन आग्रह गरे ।
उनले भने, ‘केही समाचारहरू प्रकाशित भएको आधारमा प्रहरी केही मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ । यो घटनाले हामी सबैलाई केही वर्षअगाडिको एउटा अप्रिय घटनाको याद दिलायो, शाही कालको याद दिलायो, जतिखेर मिडिया हाउसमा सुरक्षाकर्मीहरू प्रवेश गर्नुभएको थियो ।’
उनका अनुसार विरोध र प्रश्न उठेपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि त्यसैमा घटना समाप्त भएको मान्न सकिँदैन । उनले भने, ‘केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब ? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो ।’
सरकारको यस्तो प्रवृत्तिलाई सामान्यीकरण गर्न नहुनेमा जोड दिँदै उनले भने, ‘हामी देशभरिका नागरिक समाजलाई भन्न चाहन्छौँ, राजनीतिक दलहरूलाई भन्न चाहन्छौँ, सबैलाई भन्न चाहन्छौँ कि यसलाई सामान्यीकरण नगरौँ । यो प्रवृत्ति जसरी देखिएको छ, यसले अब हद नाघेको छ । यसले हद नाघ्यो ।’
सभापति थापाले सरकारको अधिकार प्रयोग कानुनी सीमाभित्र हुनुपर्ने बताए । कांग्रेसले आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने भए पनि लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको विषयमा सरकारका गलत कदमको विरोध गर्ने स्पष्ट पारे ।
उनले भने, ‘जहाँ साथ दिनुपर्ने दिन्छौँ, जहाँ सहयोग गर्नुपर्ने गर्छौं । तर जहाँ डेमोक्रेसीको कुरा हुन्छ, लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, जनताको मौलिक हकको कुरा हुन्छ र यी विषयहरूका सन्दर्भमा सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौँ ।’
सरकारले नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गरे कांग्रेसले प्रश्न उठाउने, उपयुक्त नीतिको पैरवी गर्ने र आवश्यक परे प्रतिवाद तथा प्रतिरोधसमेत गर्ने उनको भनाइ थियो ।
‘हामी प्रश्न गर्छौं । हामी उपयुक्त नीतिको पैरवी गर्छौं । र हामीलाई आवश्यकता पर्यो भने प्रतिवाद र प्रतिरोध पनि गर्छौं । आज त्यस्तै परिस्थिति आएको छ,’ सभापति थापाले भने ।
उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक अधिकारको संरक्षण लोकतन्त्रको आधारभूत विषय भएको उल्लेख गर्दै सरकारलाई आफ्ना अधिकार र जिम्मेवारी कानुनी सीमाभित्र रहेर प्रयोग गर्न सचेत गराएका छन् ।

