शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने तथा धरपकड गर्ने घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
‘जनदबाबपछि रिहाई भन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेण्ट बन्द गर सरकार,’ कांग्रेसले भनेको छ।
कांग्रेसले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको उल्लेख गरेको छ। विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप भएका घटनाको स्मरण गराउँदै पार्टीले त्यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता निरंकुश र स्वेच्छाचारी कदमविरुद्ध पार्टी निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको जनाएको छ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सिधै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनको मर्मविपरीत भएको कांग्रेसको ठहर छ। पार्टीले सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको हस्तक्षेपको भर्त्सना गरेको छ।
कांग्रेसले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन माग गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले २०८३ कात्तिक १३ गते जारी गरेको विज्ञप्तिमा उक्त माग गरिएको हो।

