काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा शुक्रबार १० वटा व्यवसायको बजार अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा नौवटा किराना तथा स्टोर्स र फलफूल पसल तथा एउटा होटल तथा खाजाघरको निरीक्षण गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा भएको अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, सुन्दरबजार नगरपालिकाका प्रशासनिक अधिकृत ऋषिराम पौडेल, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीलगायत सहभागी थिए।
त्यस्तै, उपभोक्ता हित संरक्षणसम्बन्धी प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि बासुदेव थापा र इलाका प्रहरी कार्यालयका प्रतिनिधिको पनि सहभागिता थियो।
चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताए।
अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षासम्बन्धी आवश्यक सुझावसमेत दिइएको उनले जानकारी दिए।
चाडपर्वको समयमा उपभोक्ता ठगिने, कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ।

