काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’
शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नलगी नजाने भन्दै प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो।
नयाँ पत्रिकाको कार्यालयबाट साँझ मात्रै पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलिपल्ट साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै प्रहरी टोली फर्किएको थियो।
पत्रकारहरूलाई सञ्चारमाध्यमको समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति विभिन्न पत्रकार संगठन, प्रेस काउन्सिल नेपाल, नेपाल बार एसोसिएसनलगायतले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र पक्राउ परेका पत्रकारलाई रिहा गर्न माग गरेका थिए।

