काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। साथै, कांग्रेसले यस विषयमा छलफल गर्न तत्काल संसद् बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार धरपकडलगायतका घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको हो। कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठ्ने गतिविधि भइरहेको आरोप लगाएको छ।
बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त जनमतका आधारमा शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने छुट कसैलाई नभएको बताए।
उनका अनुसार पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बैठकको निष्कर्ष छ।
कांग्रेसले पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमतिविना समाचार कक्षबाटै पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो,’ नेता आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’
यस्ता गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन सञ्चालन गर्ने खतरा उत्पन्न गरेको बैठकको निष्कर्ष रहेको उनले बताए। कांग्रेसले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनसमेत माग गरेको छ।
सरकारका राम्रा काम, जनसरोकारका विषय र सुशासनका प्रयासमा आफ्नो समर्थन रहने उल्लेख गर्दै कांग्रेसले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।
त्यसैगरी, न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने र सरकारका सम्पूर्ण कामकारबाही कानुनी प्रक्रियाअनुसार सञ्चालन हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको कांग्रेसको भनाइ छ।

