काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग सम्बोधन गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको उपलब्ध बैठकले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश र सञ्चारमाध्यममा श्रम अधिकार उल्लंघनलगायतका विषयलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडलाई समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहारका रूपमा लिएको छ । महासंघले उक्त घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
त्यस्तै, सरोकारवाला पक्षसँग छलफल नगरी एकपक्षीय रूपमा ल्याइएको प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, पारिश्रमिक तथा चाडपर्व खर्च उपलब्ध नगराउने कार्य श्रम अधिकारको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ ।
महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती नगर्न र प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार वितरण गर्न पनि सरकारसँग माग गरेको छ ।
यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाउने निर्णय गरेको छ ।
आफ्ना मुद्दाबारे संसद्मा आवाज उठाउन सांसदहरूसँग बहस तथा पैरवी गर्ने र प्रेस स्वतन्त्रताका पक्षधर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने महासंघले जनाएको छ । छठ पर्वपछि आफ्ना माग सम्बोधन गराउन चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघको निर्णय छ ।

