सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज शनिबार यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ। यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा आराधना गरेर मीठा खानेकुरा दिने परम्परा रहेको छ।
लोक व्यवहारमा काग घरमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलनसमेत रहेको छ। काग घर वरपर आएर कराएमा उसले कुनै खबर लिएर आएको विश्वास गरिन्छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वाससँग तिहार पर्व जोडिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ।
वैदिक सनातन शास्त्रीय विधिअनुसार यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने मान्यता रहेको छ। यमदीप दान गरेमा यम यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेको दिन सुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो।
यसैगरी लक्ष्मीलाई घरमा स्थिर राख्ने धार्मिक विश्वासका साथ गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धनतेरसका दिन गरगहना तथा भाँडाकुँडा खरिद गरेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने धार्मिक मान्यता रहेको छ।

