काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ। संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार निर्वाचन मिति घोषणा गर्न आवश्यक छलफल अघि बढाइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाइएको छ। उक्त छलफलमा निर्वाचनको तयारी, कानुनी व्यवस्था र मिति निर्धारणलगायत विषयमा विचारविमर्श हुने बताइएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधानलाई आधार मानेर आयोगले निर्वाचनको तयारी अघि बढाएको हो।
निर्वाचन आयोगको सिफारिसमा सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ। राजनीतिक दलहरूसँगको छलफल र कानुनी व्यवस्थाका आधारमा निर्वाचनको मिति टुङ्गो लगाइने आयोगले जनाएको छ।
आयोगले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ।

