काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मङ्सिर ६ र ७ गते (नोभेम्बर २२ र २३) भारतको राजकीय भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्री शाह मङ्सिर ६ गते नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेञ्जनकारसहित नेपाल सरकारका उच्च अधिकारीहरू सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।
त्यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

