काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मङ्सिर ४ गते बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि विभिन्न अनुदान तथा सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्मका सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले आगामी मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय बैठकले गरेको छ।
सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरेको छ। त्यस्तै, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्का यी निर्णयसँगै अन्तर्राष्ट्रिय सम्बन्ध, विपद् व्यवस्थापन, आर्थिक सहायता, जग्गा व्यवस्थापन तथा सम्पदा संरक्षणका क्षेत्रमा सरकारले विभिन्न नीतिगत निर्णय अघि बढाएको छ।

