काठमाडौं । लमजुङको राइनास नगरपालिकामा पनि हुलाक सेवाको डिजिटल प्रणाली पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (PITS) सञ्चालनमा आएको छ । जिल्ला हुलाक कार्यालय लमजुङअन्तर्गत रहेको राइनास हुलाक कार्यालयमा बिहीबार (मंसिर ४ गते) देखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
यससँगै लमजुङका तीन स्थानीय तहमा PITS सेवा विस्तार भएको छ । यसअघि सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा यो प्रणाली सञ्चालनमा आइसकेको छ ।
जिल्ला हुलाक कार्यालयका अनुसार आगामी दिनमा जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गर्ने तयारी गरिएको छ । डिजिटल प्रणालीमार्फत हुलाक वस्तुको दर्तादेखि अन्तिम वितरणसम्मको विवरण व्यवस्थित गर्न सेवा विस्तारलाई प्राथमिकता दिइएको हो ।
PITS अर्थात् पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम हुलाक सेवाअन्तर्गत चिठीपत्र, पार्सल तथा अन्य हुलाक सामग्रीको दर्ता, ओसारपसार र वितरणको अवस्था अनलाइन माध्यमबाट अभिलेख तथा अनुगमन गर्ने प्रणाली हो ।
यस प्रणालीमार्फत हुलाक कार्यालयमा दर्ता भएका चिठीपत्र, पार्सल र सोही दिन वितरण गर्नुपर्ने सामग्रीको विवरण डिजिटल रूपमा प्रविष्ट गरिन्छ । एउटा हुलाक कार्यालयबाट अर्को कार्यालयमा सामग्री पठाउँदा तथा प्राप्त हुँदा त्यसको अवस्थासमेत प्रणालीबाटै हेर्न र रुजु गर्न सकिन्छ ।
त्यस्तै, सम्बन्धित व्यक्तिको हातमा चिठीपत्र वा पार्सल बुझाएपछि अन्तिम वितरण (Final Delivery) को विवरण पनि प्रणालीमा अद्यावधिक गरिन्छ ।
PITS सञ्चालनमा आएपछि हुलाक सामग्री कहाँ दर्ता भयो, कुन कार्यालय हुँदै अगाडि बढ्यो र अन्तिममा वितरण भयो वा भएन भन्ने विवरण व्यवस्थित रूपमा अभिलेख गर्न सहज हुनेछ । यसले हुलाक सेवाको पारदर्शिता, जवाफदेहिता र कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
लमजुङका सबै स्थानीय तहमा यो प्रणाली विस्तार भएमा जिल्लाभरको हुलाक सेवालाई डिजिटल प्रविधिमा जोड्दै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

