काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित निःशुल्क स्त्री रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । गाउँपालिकाका नौवटै वडामा २०८३ कात्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन भएको शिविरबाट ७९९ जना महिला लाभान्वित भएका छन् ।
महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स (Women for Women Foundation, Netherlands) र स्वदेशी नेपाल (SoDeSI Nepal) को प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ महिला चिकित्सकबाट महिलाहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो ।
शिविरको अन्तिम दिन मंसिर ३ गते वडा नम्बर ३ स्थित खुदी स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको थियो । उक्त दिन १५८ जना महिलाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए । तीमध्ये ६ जनालाई चिकित्सकको सल्लाह र आवश्यकताअनुसार काठमाडौं लगेर निःशुल्क शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ ।
शिविरको समग्र अवधिमा २१ जना महिलालाई थप उपचार तथा आवश्यकताअनुसार काठमाडौं लगेर निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने भएको छ । शिविरमार्फत स्त्री रोग, पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको पहिचान, परीक्षण, परामर्श र उपचार सेवा उपलब्ध गराइएको थियो ।
शिविरको अन्तिम दिन वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङ, जनप्रतिनिधि, स्वदेशी नेपालका कार्यक्रम संयोजक भेषबहादुर खड्का, महिलाका लागि महिला संस्था नेदरल्यान्ड्सका नेपाल प्रतिनिधि विश्वनाथ पौड्याल तथा विशेषज्ञ महिला चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
शिविर समापन कार्यक्रम सामाजिक विकास समिति अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिविर सञ्चालनमा सहयोग गर्ने संस्था, विशेषज्ञ चिकित्सक तथा सम्बन्धित व्यक्तिहरूलाई गाउँपालिकाका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख तरुण गुरुङले गरेका थिए ।
महिलाहरूलाई आफ्ना स्वास्थ्य समस्या पहिचान गर्न, समयमै परामर्श तथा उपचार सेवा प्राप्त गर्न र जटिल स्वास्थ्य समस्याको थप उपचारमा पहुँच पुर्याउन शिविरले महत्वपूर्ण योगदान गरेको गाउँपालिकाले जनाएको छ ।

