काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.२ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो। गत असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेको थियो।
त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २१ हजार ८७९ पुगेको छ। त्यसैगरी, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ८२ हजार ३६९ रहेको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या र उनीहरूले पठाउने रकमले नेपालको विदेशी मुद्रा सञ्चिति तथा समग्र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

