भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’ विषयमा आफ्नो धारणा राखेकी थिइन्।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’ विषयमा प्रस्ताव प्रस्तुत गरेका थिए। उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरूबारे धारणा राखेका थिए।
त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।
अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’बारे सहभागीहरूलाई मार्गनिर्देशन गर्ने क्रममा पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्रै नभई सरकार अपदस्थ गरिएदेखि नै सुरु भएको बताएका थिए।
भेलाले पार्टीभित्र नयाँ ऊर्जा र आत्मविश्वास सिर्जना गर्दै सङ्गठनलाई सुदृढ बनाउने, आगामी निर्वाचनका लागि तयारी तीव्र पार्ने तथा राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रक्रियाको रक्षाका लागि आवश्यक कदम चाल्ने निष्कर्षसहित २१ बुँदे विशेष प्रस्ताव पारित गरेको हो।

