काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ६.३७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति पनि बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १.६७ प्रतिशत रहेको औसत मुद्रास्फीति चालु आर्थिक वर्षमा बढेर ६.२२ प्रतिशत पुगेको हो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मूल्यवृद्धि बढेको छ । गत वर्ष असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति यस वर्ष बढेर ८.०४ प्रतिशत पुगेको छ । त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशतबाट बढेर ५.४६ प्रतिशत पुगेको छ ।
खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा बढी घिउ तथा तेलको मूल्य बढेको छ । यसको वार्षिक विन्दुगत मूल्य सूचकांक १६.४४ प्रतिशतले वृद्धि भएको छ । फलफूलको मूल्य १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १२.९७ प्रतिशतले बढेको छ । त्यस्तै, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत रूपमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा महँगी बढी देखिएको छ । असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशतले बढ्दा सहरी क्षेत्रको ६.२८ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत मुद्रास्फीति रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ५.१३ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ ।
उपभोक्ता मूल्यसँगै थोक मूल्यवृद्धि पनि तीव्र भएको छ । गत आर्थिक वर्षको असोजमा १.३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति चालु आर्थिक वर्षको असोजमा बढेर ७.२९ प्रतिशत पुगेको छ ।
समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.८७ प्रतिशत रहेको छ । मध्यवर्ती वस्तुको मूल्यवृद्धि ९.९८ प्रतिशत र पुँजीगत वस्तुको ६.५६ प्रतिशत पुगेको छ । निर्माण सामग्रीको थोक मूल्य सूचकांकसमेत ५.९३ प्रतिशतले बढेको छ ।
यसैबीच, छिमेकी भारतको तुलनामा नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ । सन् २०२६ अक्टोबरमा भारतको वार्षिक उपभोक्ता मुद्रास्फीति ६.०९ प्रतिशत रहेकोमा नेपालमा २०८३ असोजमा यस्तो मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ ।

