राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनमा आएसँगै एन्फाले भोग्दै आएको प्रशासनिक तथा आर्थिक रोकावटसमेत हटेको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी गराउनुभएको छ।
एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा राखेपले यसअघि विभिन्न समयमा जारी गरेका पत्राचारलाई आधार बनाएर प्रतिबन्ध हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ।
राखेपले पठाएको पत्रमा परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको र सबै प्रकारका प्रशासनिक तथा आर्थिक रोकावट हटाइएको जनाइएको छ।
त्यसैगरी, राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) लाई आधार बनाएर प्रतिबन्ध फुकुवाको निर्णय गरेको जनाएको छ। यस निर्णयसँगै एन्फालाई प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ।

