काठमाडौं । सरकारले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चीन सरकारले प्रदान गर्ने दुई मिलियन अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार उक्त अनुदान रकम बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्कालीन उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा खर्च गरिनेछ।
भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले चीन सरकारले उक्त आर्थिक सहायता उपलब्ध गराउन लागेको हो।

