काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष गरेको छ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगमा भएको छलफलका क्रममा निर्वाचनको समयतालिकाबारे यस्तो प्रस्ताव गरिएको हो।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू सहभागी थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए। तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन पठाएर बैठकबाट बाहिरिएका थिए।
छलफलका क्रममा नेकपाका संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन्। प्रचण्डको सचिवालयका अनुसार उनले आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गर्दै यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा बनाउने बताएका हुन्।
यसअघि स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भएको थियो भने प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी २०८४ वैशाख ३० गते समाप्त हुँदैछ।
गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुन करिब पाँच महिना मात्र बाँकी रहेकाले निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीस्वरूप राजनीतिक दलहरूसँग छलफल अघि बढाएको हो।
आयोगले गरेको प्रस्तावअनुसार समयतालिका कार्यान्वयन भए स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनेछ।

