काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मीसहित ३४ सदस्य सहभागी छन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोलीसमेत आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ।
प्रधानमन्त्री शाह भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासकी प्रवक्ता अम्बिका जोशीले जानकारी दिएकी छन्।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जानेछन्। सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। आजका लागि अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।
भोलि मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ताको कार्यक्रम रहेको छ। उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। सो क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ।
भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
यसैगरी, मंसिर ७ गते अपराह्न ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह नयाँदिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

