काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सलाई शानदार रूपमा पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १४.३ ओभरमै पूरा गर्यो। ओपनर जर्ज मुन्से र विनोद भण्डारीले अविजित शतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
मुन्सेले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाए। यो जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर हो। उनले ४९ बलमै शतक पूरा गरेका थिए। एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन्। समग्र एनपीएल इतिहासमा यो छैटौँ शतक हो।
अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रनको योगदान दिए। दुवै ब्याटरबीचको उत्कृष्ट साझेदारीले सुदूरपश्चिमलाई उपाधिसम्म पुर्यायो।
यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन बनाए। उनले डार्सी सर्टसँग ३०, निरोशन डिकवेलासँग ३९ र दिलीप नाथसँग ३४ रनको साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए।
डार्सी सर्टले २१, निरोशन डिकवेलाले २८ तथा दिलीप नाथले अविजित ३९ रन बनाए। अली शेखले १२ बलमा २४ रनको योगदान दिए। रुवेन ट्रम्पलमेन ४ रनमा नटआउट रहे।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक भने उपाधि जित्न सफल भयो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले र दोस्रो संस्करणमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि आफ्नो नाममा लेखाएको हो।
लिग चरण र प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा शानदार जित निकाल्दै पुरानो हारको बदला समेत लिएको छ।
यता लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्ने अवसरबाट चुकेको छ। एनपीएलका तीन संस्करणमा तीन फरक टोलीले उपाधि जित्ने क्रमले पनि यसपटक निरन्तरता पाएको छ।

