काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत भ्रमणमा जान लागेका हुन ।
भ्रमणमा उनीसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी रहनेछन्। गत ११ पुसमा तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो कार्यकालको पहिलो विदेश भ्रमण हो।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई बिद्युत विक्री तथा बंगलादेशलाई बिद्युत बिक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको बिषयमा छलफल हुने जनाईएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २० गते मात्रै स्वदेश फर्कने छन् ।